काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले विपद्पछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी दिएका हुन्।

उनका अनुसार बाढी, पहिरो तथा डुबानमा परी बेपत्ता भएका र अलपत्र परेका नेपाली नागरिक तथा विदेशी पर्यटकको उद्धार कार्य तीव्र पारिएको छ। भौगोलिक तथा मौसमी प्रतिकूलताका बाबजुद हाल २२ वटा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी रहेको उनले बताए।

ADVERTISEMENT

विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले वैदेशिक सहायता जुटाउने कामसमेत अघि बढाएको अर्थमन्त्री वाग्लेले जानकारी दिए। उनका अनुसार विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भएको छ। चीन, भारत, जापान, एसियाली विकास बैंक तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले बताए।

ADVERTISEMENT

अर्थमन्त्रीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात रहेको छ। त्यसैले तत्काल उद्धार तथा राहतका लागि स्रोत–साधनको कमी नहुने उनले स्पष्ट पारे।

ADVERTISEMENT

प्रारम्भिक तथ्यांकअनुसार विपद्का कारण २५ वटा पक्की पुल तथा निजी क्षेत्रका करिब ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणजस्तै वैज्ञानिक तथ्यका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिनु नेपाली राजनीतिको मौलिक चरित्र भएको भन्दै उनले राजनीतिक दलहरूको एकताप्रति प्रशंसा व्यक्त गरे।

नवलपुर र चितवनलगायतका क्षेत्रमा भेटिएका शवको व्यवस्थापन तथा बेपत्ताको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि अर्थमन्त्री वाग्लेले बताए।