काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ।
समितिमा रहेका कांग्रेसका चार सांसदले शुक्रबार सभापति हरि ढकाललाई पत्र पठाउँदै बैठक अविलम्ब बोलाउन माग गरेका हुन्।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे तथा सांसदहरू अर्जुननरसिंह केसी, निश्कल राई र रेखाकुमारी यादवले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १७८ अनुसार निवेदन दिएका हुन्।
उनीहरूले पछिल्लो समय सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाक्रमबारे समितिमा छलफल गरी आवश्यक छानबिन र निर्देशन दिनुपर्ने बताएका छन्।
विशेषगरी बिचौलिया इनम सापकोटा प्रकरणमा राज्य संयन्त्रको दुरुपयोग, प्रहरी हिरासतमा रहेका व्यक्तिको फोन तथा अडिओ अनधिकृत व्यक्तिको पहुँचमा पुगेको विषय र अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाइएको छ।
त्यस्तै, अनुसन्धानका क्रममा रहेका प्रमाणमा अनधिकृत पहुँच पुर्याइएको तथा प्रमाण नष्ट गरिएको भनिएका विषयमा सत्यतथ्य छानबिन गर्न कांग्रेसको माग छ। प्रधानमन्त्री बालेन्द्र शाह र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग इनम सापकोटाले निकटता रहेको भनी गरेका दाबीबारे पनि स्पष्ट पार्नुपर्ने उनीहरूको भनाइ छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गरिएको विषय र समाचारकक्षमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे समेत सरकारसँग जवाफ माग्नुपर्ने कांग्रेसको माग छ।
यी विषयमा छलफल गर्न प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई समितिको बैठकमा अनिवार्य उपस्थित गराई जवाफ माग्न उनीहरूले आग्रह गरेका छन्।
यसअघि नेकपा र राप्रपाका सांसदहरूले पनि समिति बैठक बोलाउन सभापति ढकाललाई पत्राचार गरिसकेका छन्।










