काठमाडौं । अमेरिकी डलर सस्तोमा सटही गरिदिने प्रलोभन देखाएर दुई जनाबाट १६ लाख रुपैयाँ ठगी तथा लुटपाट गरेको आरोपमा काठमाडौंमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका २८ वर्षीय तामाङ छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले गत असोज २२ गते विभिन्न व्यक्तिलाई फोन गरेर आफूसँग अमेरिकी डलर रहेको र सस्तो मूल्यमा सटही गरिदिने भन्दै विश्वासमा पारेका थिए। त्यसको भोलिपल्ट असोज २३ गते गोकर्णेश्वर–१२ को लसुनटारमा बोलाएर दुई जनाबाट आठ–आठ लाख रुपैयाँ लुटेर फरार भएका थिए।
प्रहरीले कात्तिक १९ गते गोकर्णेश्वर–३ गाम्चाबाट उनलाई पक्राउ गर्ने क्रममा उनले चक्कु प्रहार गर्दा एक प्रहरी घाइते भएका थिए। नियन्त्रणमा लिन प्रहरीले सुरुमा एक राउण्ड हवाई फायर गरेको र त्यसपछि घुँडामुनि लक्षित गरी गोली चलाएको जनाएको छ। गोली लागेर घाइते भएका तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार उनी यसअघि पनि डलर तथा सुन देखाएर ठगी र लुटपाट गरेको आरोपमा आठ पटक पक्राउ परिसकेका व्यक्ति हुन्। उनको समूहले पसल तथा व्यवसायका होर्डिङ बोर्डबाट सम्पर्क नम्बर संकलन गरी सञ्चालकलाई फोन गर्ने, सुरुमा सक्कली डलर देखाएर विश्वास जित्ने र त्यसपछि एकान्त स्थानमा बोलाएर रकम लुट्ने गरेको अनुसन्धानबाट खुलेको छ।
ठगी गर्दा रुमालमा डलरको आकारमा काटिएका सेतो कागज तथा नेपाली २० रुपैयाँका नोट राखेर बीचमा अमेरिकी डलरका सक्कली नोट देखाउने गरेको प्रहरीले जनाएको छ। समूहले सीसीटीभीको पहुँच नभएका नाङ्लेभारे, लप्सीफेदी, सुन्दरीजल, तारेभिर, शिवपुरी र नागार्जुन क्षेत्रलाई समेत प्रयोग गर्ने गरेको थियो।
प्रहरीले उनीसँगबाट ठगीमा प्रयोग भएका मोटरसाइकल, नक्कली नम्बर प्लेट, नेपाली २० रुपैयाँका चार बन्डल, डलरको आकारमा काटिएका कागज, पाँच अमेरिकी डलरका नोट, एक किलो नक्कली सुन र विभिन्न मोबाइल बरामद गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।










