काठमाडौं।  वैदेशिक रोजगारीका नाममा चर्को रकम असुल्न खोज्ने एक म्यानपावर एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। ‘फ्री भिसा, फ्री टिकट’ लागू हुने मलेसियाको रोजगारीका लागि १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने कानुनी व्यवस्था हुँदाहुँदै एक युवासँग ३ लाख रुपैयाँ मागेपछि एजेन्ट पक्राउ परेका हुन्।

सप्तरीका अजयकुमार यादव सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका थिए। उनले झापास्थित शाखामार्फत प्रक्रिया पूरा गरी वैशाख २९ गते उड्ने तयारी गरेका थिए। तर कोटेश्वरस्थित ‘ग्रान्ड स्वीट जब’ म्यानपावरले अन्तिम समयमा ३ लाख रुपैयाँ नदिएसम्म राहदानी, श्रम स्वीकृति र टिकट नदिने भन्दै रोक लगाएको थियो।

ADVERTISEMENT

यादवले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए। बाँकी २ लाख २० हजार रुपैयाँ ल्याए मात्रै विदेश पठाइदिने भनिएपछि उनी पैसा जुटाएर काठमाडौं आएका थिए।

यसबीच उनले आफू ठगिएको जानकारी श्रम मन्त्रालयसम्म पुर्‍याएका थिए। त्यसपछि प्रहरी र मन्त्रालयको समन्वयमा तीनकुनेस्थित गैरीगाउँमा जालो थापिएको थियो। म्यानपावरका कर्मचारीले पैसा लिएर कागजात दिन खोजिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका एजेन्टको साथबाट चारवटा राहदानी, हवाई टिकट र अन्य महत्वपूर्ण कागजात बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले अन्य कामदारसँग पनि रकम असुल्ने तयारी गरेको खुलेको छ।

प्रहरीले ‘फ्री भिसा, फ्री टिकट’ भएको देशमा किन लाखौं रुपैयाँ मागिएको भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका एजेन्टमाथि थप कानुनी प्रक्रिया सुरु गरिएको छ।

प्रहरीको हस्तक्षेपपछि अजयकुमार यादवको राहदानी, श्रम स्वीकृति, बीमा र टिकट फिर्ता गरिएको छ। अब उनी मलेसिया उड्ने तयारीमा छन्।

वैदेशिक रोजगारीका क्रममा ठगी, अवैध असुली वा कागजात बन्धक बनाउने घटना बढ्दै गएको भन्दै श्रम मन्त्रालयले यस्ता समस्या परेमा सिधै सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ।