काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ र तिहारलाई लक्षित गर्दै सुरक्षा योजना सार्वजनिक गरेको छ । योजनाअनुसार चाडपर्व अवधिभर काठमाडौंमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
शुक्रबार भद्रकालीस्थित परिसर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापाले सादा पोशाक र बर्दीमा सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।
उनका अनुसार चाडपर्वका क्रममा जोखिम बढेमा सुरक्षाकर्मीको संख्या थप गरिनेछ । दसैँ तथा तिहारमा चोरी, ठगी, लुटपाट र सार्वजनिक स्थानमा हुने दुर्व्यवहारलाई सम्भावित सुरक्षा चुनौतीका रूपमा प्रहरीले पहिचान गरेको छ ।
विशेषगरी भीडभाड भएका स्थानमा झोला तान्ने तथा अन्य किसिमका दुर्व्यवहार हुन सक्ने भएकाले निगरानी बढाइने प्रहरीले जनाएको छ ।चाडपर्व सुरक्षाका लागि प्रहरीले २२ प्रकारका ड्युटीमा सुरक्षाकर्मी परिचालन गर्नेछ ।
काठमाडौं प्रवेश गर्ने नाकामा कुकुर परिचालन गरी चेकजाँच गरिनेछ भने विभिन्न स्थानमा सीसीटीभीमार्फत सुरक्षा निगरानी गरिनेछ ।







