काठमाडौं । ठगी आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन्। पीडित पक्षलाई दाबीअनुसारको रकम बुझाएपछि उनलाई सोमबार बेलुका रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पछिल्लो ठगी कसुरसम्बन्धी उजुरीमा साहले पीडितलाई साढे ४ लाख रुपैयाँ भुक्तानी गरेपछि हाजिरी जमानीमा रिहा गरिएको हो।
साहमाथि काठमाडौंको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिदका क्रममा शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप लागेको थियो। सोही विषयमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले गत वर्ष जेठमा साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला गरेको थियो। अदालतले उनलाई एक महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवानासमेत तोकेको थियो।
तर फैसला सुनाउँदा साह अदालतमा उपस्थित नभएको बताइएको छ। पीडित पक्षले अदालतको निर्णय कार्यान्वयनमा उनले बेवास्ता गरेको गुनासो गर्दै आएको थियो।
यसैबीच, पीडितले पुनः ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट साहलाई पक्राउ गरेको थियो।
पक्राउपछि काठमाडौं ल्याइएका साह जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका थिए। पीडितले दाबी गरेको रकम बुझाएपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।
सेफ सन्तोष साह नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने व्यक्तित्वका रूपमा परिचित छन्। उनी सन् २०२१ मा बीबीसीको ‘मास्टरसेफ’ कार्यक्रममा सहभागिता जनाएपछि व्यापक चर्चामा आएका थिए।






