काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

ADVERTISEMENT

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ।

ADVERTISEMENT

कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।