काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धामा उत्रनेछन्।

ADVERTISEMENT

आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

ADVERTISEMENT

तीन खेल खेलेको कर्णाली दुई जित र एक हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ। पहिलो खेलमा काठमाडौंसँग पराजित भएको कर्णालीले त्यसपछि विराटनगर र जनकपुरलाई हराएको थियो।

चार खेल खेलेको सुदूरपश्चिम दुई जित र दुई हारसहित छैटौँ स्थानमा छ। उसले चितवन र पोखरालाई पराजित गरेको थियो भने विराटनगर र लुम्बिनीसँग हार बेहोरेको थियो।

यस्तै, आजको दोस्रो खेलमा दिउँसो साढे ४ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

तीन खेल खेलेको चितवन एक जित, एक हार र एक खेल वर्षाका कारण रद्द भएपछि प्राप्त अंकसहित सातौँ स्थानमा छ। चितवनले पहिलो खेलमा सुदूरपश्चिमसँग हार बेहोरेको थियो भने दोस्रो खेल लुम्बिनीसँग वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा भने विराटनगरलाई हराउँदै पहिलो जित निकालेको थियो।

अर्कोतर्फ, पोखरा एभेन्जर्सले खेलेका तीनवटै खेलमा हार बेहोरेको छ। अंक तालिकाको पुछारमा रहेको पोखरा आजको खेल जित्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। पोखरा लुम्बिनी, जनकपुर र सुदूरपश्चिमसँग पराजित भएको थियो।