काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

ADVERTISEMENT

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्ने अनुमान छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ। यी दुई प्रदेशका पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

ADVERTISEMENT

रातिको समयमा तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

यसैगरी, बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।