काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रका कारण देशका अधिकांश भागमा मौसम बदली भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

यस्तै, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि समान प्रकृतिको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कोशी र मधेश प्रदेशका साथै हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

उच्च हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

ADVERTISEMENT

आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा अन्य क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ, हावाहुरी र सम्भावित हिमपातका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा गर्न सुझाव दिइएको छ।