काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका लागि तय भएका दुवै खेल वर्षाका कारण प्रभावित हुने सम्भावना बढेको छ। बिहीबार रातिदेखि निरन्तर भइरहेको वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि खेल हुने सम्भावना न्यून देखिएको हो।

शनिबार पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका छ। खेल दिउँसो साढे १२ बजे सुरु हुने तय भएको छ। त्यस्तै, दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अपराह्न ५ बजे आमनेसामने हुनेछन्।
तर लगातारको वर्षाले मैदानमा पानी जमेकाले दुवै खेल सञ्चालनमा अनिश्चितता देखिएको छ। वर्षाका कारण खेल हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नेछन्।
पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो भने चितवनले विराटनगरलाई ८ रनले हराएको थियो। त्यसैले दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छन्।
यता सुदूरपश्चिमले एक खेलमा हार र एक खेलमा जित बेहोरेको छ। पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको उसले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।
विराटनगर भने लगातार दुई हारपछि पहिलो जितको खोजीमा छ। पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले हारेको थियो।
वर्षा रोकिएर खेल सञ्चालन भए चारै टोली आ–आफ्नो लक्ष्यसहित मैदान उत्रनेछन्। तर मौसमले साथ नदिए शनिबारका दुवै खेल रद्द भई टोलीहरूले अंक बाँड्नुपर्नेछ।










