काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाका कप्तान मोनान्क पटेलले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।
दुवै टोली आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । यसअघि भएको पहिलो खेलमा नेपाल र अमेरिकाले स्कटल्यान्डसँग डीएलएस पद्धतिका आधारमा दुई रनको हार व्यहोरेका थिए ।
नेपाल घरेलु मैदानमा जित निकाल्दै शीर्ष चारमा पुग्ने सम्भावनालाई कायम राख्न चाहन्छ । हालसम्म २५ खेल खेलेको नेपाल १८ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ ।
यता अमेरिका भने नेपाललाई पराजित गर्दै पुनः शीर्ष स्थानमा फर्किने योजनामा छ । २५ खेलबाट ३६ अंक जोडेको अमेरिका अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
आजको खेल नेपाली टोलीका लागि महत्वपूर्ण मानिएको छ । घरेलु समर्थकको साथमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण अंक जोड्ने लक्ष्य राखेको छ ।





