काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले आफूबाट न्यायपालिकाको प्रतिष्ठामा आँच आउने कुनै पनि काम नभएको दाबी गरेका छन्। बिहीबार साँझ वक्तव्य जारी गर्दै उनले आफूलाई जोडेर सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण जनाएका हुन्।
न्यायाधीश फुयालले न्यायपालिकामा देखिएका विचलनसम्बन्धी विषयमा भइरहेको अनुसन्धानलाई पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको पनि उनले बताएका छन्।
वक्तव्यमा उनले पछिल्लो समय न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाएर गरिएका कार्यबारे राज्यलाई जानकारी भई अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।
आफूसँग सम्बन्धित समाचारलाई न्यायक्षेत्रको समग्र अवस्था र अस्थिरताको सन्दर्भबाट पनि हेर्न उनले न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला तथा सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।
‘मबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य भएको छैन,’ फुयालले वक्तव्यमा भनेका छन्।
आफूमाथि भ्रम र अर्धसत्य फैलाइएको तथा अनुसन्धानलाई प्रभावित पार्ने गरी गतिविधि भएको भन्दै उनले दुःख व्यक्त गरेका छन्। न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्न सम्पूर्ण न्यायकर्मीलाई पनि उनले आग्रह गरेका छन्।
पछिल्लो समय बिचौलिया भनिएका इमन सापकोटासँगको सम्पर्क र सम्बन्धका विषयमा न्यायाधीश फुयाललाई जोडेर समाचार सार्वजनिक भएका थिए। सोही विषयमा प्रतिक्रिया दिँदै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।









