काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा सञ्चालित नेपाल सोसल बिजनेस (एनएसबी) ले सामाजिक तथा वातावरणीय क्षेत्रमा काम गरिरहेका तीन उद्यममा ५५ लाख रुपैयाँ लगानी गर्ने भएको छ।
एनएसबीको चौथो चरणको ‘सोसल इम्प्याक्ट फन्डिङ इनिसिएटिभ’ अन्तर्गत ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालि, प्रवाह नेपाल प्रालि र स्याहार प्रोडक्ट्स छनोट भएका हुन्। छनोट भएका उद्यममध्ये ग्रीन रोडले २५ लाख रुपैयाँ तथा प्रवाह नेपाल र स्याहार प्रोडक्ट्सले १५–१५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
फोहोर व्यवस्थापनदेखि वातावरणमैत्री उत्पादनसम्म
ग्रीन रोड वेस्ट म्यानेजमेन्टले पुनःप्रयोग गर्न कठिन प्लास्टिक तथा सिसाजन्य फोहोरलाई सडक निर्माण सामग्री, इँटा, कम्प्रेस्ड बोर्ड र सिमेन्ट उद्योगमा प्रयोग हुने वैकल्पिक इन्धनमा रूपान्तरण गर्दै आएको छ।
त्यस्तै, प्रवाह नेपालले राइडरको आम्दानी पारदर्शी रूपमा अभिलेख र अनुगमन गर्न सकिने प्रणाली तथा विद्युतीय बाइक भाडामा उपलब्ध गराउने सेवामार्फत दिगो रोजगारी प्रवर्द्धन गर्दै आएको छ। स्याहार प्रोडक्ट्सले वातावरणमैत्री सरसफाइ तथा सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ।
लगानीका लागि उद्यम छनोट गर्न आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीले आफ्ना व्यावसायिक योजना, सामाजिक प्रभाव र व्यवसाय विस्तारका सम्भावना प्रस्तुत गरेका थिए। व्यावसायिक रूपमा दिगो रहँदै सामाजिक तथा वातावरणीय क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्ने उद्यमलाई प्राथमिकता दिइएको एनएसबीले जनाएको छ।
२० भन्दा बढी उद्यमलाई सहयोग
सन् २०१४ मा स्थापना भएको नेपाल सोसल बिजनेसले हालसम्म २० भन्दा बढी उद्यमलाई सहयोग गरिसकेको जनाएको छ। संस्थाले न्यून ब्याजदर, धितोरहित लगानी र लचिलो भुक्तानी अवधिसहित सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ।
चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले लगानी रकम उपलब्ध गराउनु सुरुवात मात्र भएको उल्लेख गर्दै यसको मुख्य उद्देश्य मापनयोग्य, अर्थपूर्ण र दीर्घकालीन प्रभाव सिर्जना गर्नु रहेको बताएका छन्।
लगानी प्राप्त गर्ने प्रवाह नेपालका एक उद्यमीले एनएसबीको सहयोगले उपलब्ध क्षमताको उपयोग गर्दै व्यवसाय विस्तार र सामाजिक प्रभाव बढाउने नयाँ अवसर खोज्न प्रोत्साहन मिलेको बताएका छन्।
चौधरी फाउन्डेसनको पहलमा सञ्चालित एनएसबीले लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनसँगको साझेदारीमा काम गर्दै आएको छ भने सिद्धार्थ बैंक यसको बैंकिङ साझेदारका रूपमा रहेको छ। संस्थाले सामाजिक उद्यममार्फत समावेशी आर्थिक विकास तथा समुदाय र वातावरणमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ।







