काठमाडौं । नेपालीका प्रमुख चाडपर्व नजिकिँदै जाँदा सेयर बजारमा कारोबार रकम घटेको छ।
चाडपर्व मनाउन, किनमेल गर्न र दैनिक आवश्यकतामा खर्च बढेपछि सेयर बजारमा लगानी हुने रकम घटेको विश्लेषकहरूको भनाइ छ। तर, कारोबार रकम घटे पनि यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भने बढेको छ।
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० बिन्दुमा पुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ३.८० अंकले बढेर ४६५.८५ बिन्दुमा कायम भएको छ।
यो साता पाँचै दिन सेयर कारोबार भएको थियो। सोमबार नेप्से २०.४८ अंकले घटेको थियो भने मंगलबार ११.९६ अंकले बढेको थियो। बुधबार ६.३८ अंकले घटेको बजार बिहीबार २.३१ अंकले बढ्यो। शुक्रबार भने बजारमा थप सुधार देखिएको हो।
कारोबार रकम ५ अर्बभन्दा बढीले घट्यो
नेप्से परिसूचक बढे पनि यो साता कुल सेयर कारोबार रकम अघिल्लो साताको तुलनामा ५ अर्ब ५ करोड ७४ लाख रुपैयाँभन्दा बढीले घटेको छ।
यो साता ३५९ कम्पनीका ५ करोड २३ लाख ९८ हजार ८८४ कित्ता सेयर २ लाख २१ हजार ७०६ पटकको कारोबारमा किनबेच भएका छन्। यसबाट कुल १८ अर्ब ९३ करोड ३९ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार भएको छ।
अघिल्लो साता ३५७ कम्पनीका ६ करोड ८ लाख ८० हजार ६८३ कित्ता सेयर २ लाख ६३ हजार १०४ पटक किनबेच हुँदा २३ अर्ब ९९ करोड १४ लाख ४१ हजार ८५१ रुपैयाँको कारोबार भएको थियो। यसरी यो साता कारोबार रकमसँगै कारोबार संख्या र किनबेच भएका सेयर कित्ता पनि घटेका छन्।
कुन कम्पनीको कारोबार बढी?
यो साता कारोबार रकमका आधारमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स र शिवम् सिमेन्ट्स अगाडि देखिएका छन्। कारोबार भएका सेयर कित्ताको संख्याका आधारमा शिवम् सिमेन्ट्स पहिलो स्थानमा रहेको छ।
त्यस्तै, बजार पुँजीकरणका आधारमा नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेका छन्।







