काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन्।

त्रिविको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित बैठकमा रजिस्ट्रार डा. रवीन्द्र अधिकारीले ६४औँ ग्रेसलिस्टसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै २०८२ असार १ देखि २०८३ असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेको जानकारी दिएका हुन्। त्रिविले आफ्नो ६७औँ वार्षिक दिवससम्बन्धी विवरण पनि सार्वजनिक गरेको छ।

ADVERTISEMENT

दीक्षान्तका लागि योग्य विद्यार्थीमध्ये १५.१० प्रतिशत प्राविधिकतर्फ र ८४.९० प्रतिशत साधारणतर्फका छन्। त्यस्तै, एमफिलतर्फ २५३, पीजीडीतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन्।

ADVERTISEMENT

संकायगत रूपमा सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन संकायका छन्। व्यवस्थापनबाट ४३ हजार १४२, शिक्षाशास्त्रबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्रबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन्।

त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानबाट ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४६३ र वन विज्ञान अध्ययन संस्थानबाट १९२ विद्यार्थी रहेका छन्।

ADVERTISEMENT

रजिस्ट्रार अधिकारीका अनुसार योग्य विद्यार्थीको दीक्षान्त समारोह २०८३ पुसमा काठमाडौंमा मूल समारोह आयोजना गरेर गर्ने तयारी छ।

विद्यार्थीलाई सहज हुने गरी सातै प्रदेशमा समेत छुट्टाछुट्टै दीक्षान्त समारोह आयोजना गर्ने तयारी भइरहेको त्रिविले जनाएको छ।