काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर, परीक्षा प्रणाली र समग्र उच्च शिक्षा सुधारका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविको संस्थागत पहिचान बलियो बनाउने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठन प्रभावकारी बनाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषयमा चर्चा भएको हो।
त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको शैक्षिक वातावरण सुधार गर्ने विषय पनि छलफलमा उठेका थिए।
छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो।
त्रिविका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिविलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए। उनले उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने बताए।
शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए। उनले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने र सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय तथा प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्नेमा जोड दिए।
उनले त्रिविको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, शैक्षिक सत्र व्यवस्थित बनाउनुपर्ने र विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए। त्यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो।












