काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको २५ सय रोपनी अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको छ । त्रिवि कार्यकारी परिषद्को गएको चैत २३ गतेको निर्णयअनुसार सूचना प्रकाशन भएको हो ।

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन–२०८१ मा विश्वविद्यालय र अन्तर्गतका निकायहरूको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति व्यक्ति, कम्पनी, संघ–संस्था वा निकायले विश्वविद्यालयको ऐन, नियम तथा कानून विपरीत अनधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गरिरहेको उल्लेख छ ।

त्यस्ता अतिक्रमण उल्लेख भएका र नभएका जग्गा खाली गरी आधिकारिक रूपमा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयले आज सूचना निकालेर आग्रह गरेको हो ।

सरकार वा दाताहरूले शैक्षिक विकासका लागि विभिन्न समय र अवस्थामा विश्वविद्यालयलाई भोगाधिकारका लागि उपलब्ध गराएका जग्गा तथा अचल सम्पत्ति सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र खाली गरीरगराई विश्वविद्यालयलाई आधिकारिक रूपमा फिर्ता गर्नरगराउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको उल्लेख छ । अटेरी गरेमा नियमअनुसार अघि बढ्ने भनिएको छ ।

सरकारले गठन गरेको खोजबिन समितिले त्रिविको झन्डै २५ सय रोपनी जग्गा अतिक्रमणमा परेको औँल्याएको छ । ‘शैक्षिक उन्नयनका लागि विभिन्न समय र अवस्थामा विश्वविद्यालयलाई भोकाधिकारका लागि उपलब्ध गराएका (प्रतिवेदनमा उल्लेख भएका वा नभएका) उक्त जग्गा तथा अचल सम्पत्तिहरु यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३५ दिनभित्र खाली गरी गराई त्रिभुवन विश्वविद्यालयलाई आधिकारिक रुपमा फिर्ता गर्नु गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

त्रिविको जग्गामा कतिपयले व्यक्तिगत र सस्थागत रूपमा हडपेका छन् । अब ती सबै कानुनी दायरामा ल्याउन प्रक्रिया अघि बढेको छ । त्रिविको जग्गा हडप्ने पहुँचवालालाई कारबाही गर्नुपर्ने आवाज उठेको छ ।