काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एआई डिटेक्सन सफ्टवेयरको रिपोर्टका आधारमा शोधपत्र (थेसिस) र सेमिनार पेपर अस्वीकार गर्ने गरेको विषयमा परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार (मंसिर ७) रिट दर्ता अस्वीकार गर्ने प्रशासनिक दरपिठ आदेश बदर गर्दै दर्ता गर्न आदेश दिएको हो । यसअघि गत मंसिर २ गते सर्वोच्चका रजिस्ट्रार बाबुराम दाहालले रिट दर्ता गर्न अस्वीकार गरेका थिए ।
विदेशी निजी सफ्टवेयर ‘टर्निटिन’ र ‘आइथेन्टिकेट’ बाट प्राप्त हुने अनुमानित एआई रिपोर्टका आधारमा थेसिस अस्वीकार गर्ने त्रिविको अभ्यासमाथि कानुनी प्रश्न उठाउँदै कानुनका विद्यार्थी रोशन आउजी र विवेक चौधरीसहितले रिट पेस गरेका थिए । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयलगायतलाई विपक्षी बनाएका छन् ।
रिटमा त्रिविको ‘एन्टी प्लेजारिज्म सफ्टवेयर व्यवस्थापन तथा सञ्चालन विनियम, २०८०’ मा साहित्यिक चोरीको स्पष्ट परिभाषा नभएको दाबी गरिएको छ । कुन कार्यलाई साहित्यिक चोरी मान्ने भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा विद्यार्थी अन्योल र अन्यायमा पर्न सक्ने उनीहरूको तर्क छ ।
दरपिठ आदेशविरुद्ध परेको निवेदनमा सर्वोच्चले रिटमा माग गरिएअनुसार आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषय इजलासबाटै निरूपण हुनुपर्ने प्रकृतिको देखिएको भन्दै रजिस्ट्रारको आदेश बदर गरेको हो ।
विद्यार्थीका व्यक्तिगत विवरण, किबोर्डमा टाइप गर्दा प्रयोग हुने ‘की–स्ट्रोक’ र डिजिटल गतिविधि विदेशी कर्पोरेट सर्भरमा भण्डारण हुँदा संविधानको धारा २८ ले सुनिश्चित गरेको गोपनीयताको हक तथा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ उल्लंघन भएको दाबीसमेत रिटमा गरिएको छ । यसबाट साइबर जोखिम बढ्न सक्ने उनीहरूको भनाइ छ ।
कानुनका विद्यार्थीले शैक्षिक क्षेत्रमा एआई डिटेक्सन सफ्टवेयर प्रयोगको आवश्यकता र औचित्य अध्ययन गर्न कानुन, सूचना प्रविधि, साइबर सुरक्षा, भाषा विज्ञान तथा विद्यार्थी प्रतिनिधि सम्मिलित उच्चस्तरीय विशेषज्ञ समिति गठन गर्न पनि माग गरेका छन् ।
समितिको प्रतिवेदनका आधारमा मात्र यससम्बन्धी नीति तथा कानुन निर्माण गर्नुपर्ने र अध्ययन पूरा नहुँदासम्म एआई डिटेक्सन सफ्टवेयर सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश जारी गर्नुपर्ने मागसमेत रिटमा गरिएको छ ।












