काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच साना तथा मझौला व्यवसायीको व्यवसायिक क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार सातै प्रदेशमा साना तथा मझौला व्यवसायीलाई लक्षित गरी व्यवसाय सञ्चालन तथा वित्तीय क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

ADVERTISEMENT

महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ADVERTISEMENT

कार्यक्रममा महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायत पदाधिकारी तथा परिषद् सदस्यहरूको उपस्थिति थियो ।महासंघका वरिष्ठ उपाध्यक्ष वैद्यले सम्झौतापछि सातै प्रदेश हुँदै क्रमशः अन्य क्षेत्रमा समेत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने बताए । यस्ता कार्यक्रमबाट उद्योगी–व्यवसायीको वित्तीय ज्ञान र वित्तीय अनुपालनसम्बन्धी क्षमता बढ्ने उनको विश्वास छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले उद्योगी–व्यवसायीलाई वित्तीय विवरण तयार गर्न तथा सम्बन्धित वित्तीय अनुपालना कायम गर्न आवश्यक ज्ञान दिने उद्देश्यले तालिम सञ्चालन गरिने बताए । तालिमका लागि आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने उनले जानकारी दिए ।

ADVERTISEMENT

बैंकले सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको जनाएको छ ।