कामना सेवा विकास बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको आकाश क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ राखिने भएको छ। कम्पनीको आठौँ वार्षिक साधारण सभाले नाम परिवर्तनसहित पूँजी वृद्धि र व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी प्रस्ताव पारित गरेको छ।

कम्पनीको साधारण सभा २०८३ मंसिर ७ गते सोमबार ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। कामना सेवा विकास बैंकले आकाश क्यापिटलको संस्थापक सेयर अधिग्रहण गरेपछि आयोजना गरिएको यो पहिलो वार्षिक साधारण सभा हो।

ADVERTISEMENT

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

ADVERTISEMENT

विशेष प्रस्तावअन्तर्गत कम्पनीको पूँजी वृद्धि, नाम परिवर्तन, संस्थागत सुदृढीकरण र व्यावसायिक कार्यक्षेत्र विस्तारका प्रस्ताव पारित भएका छन्।

आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनी ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालनमा आउनेछ।

कामना सेवा विकास बैंकको सहायक कम्पनीका रूपमा अघि बढ्ने क्यापिटलले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पूँजी बजारसम्बन्धी वित्तीय सेवाको दायरा विस्तार गर्ने लक्ष्य राखेको छ। यसबाट लगानीकर्तालाई थप वित्तीय सेवा र लगानीका अवसर उपलब्ध गराउने कम्पनीको अपेक्षा छ।