काठमाडौँ । देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागमा पनि आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

ADVERTISEMENT

महाशाखाका अनुसार कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार देशका विभिन्न भू–भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ ।

ADVERTISEMENT

कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भाग तथा देशका तराई क्षेत्रमा भने आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।

दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ ।