काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतबाट महँगिएर आए पनि भोटेकोसी विपद्का कारण तत्काल मूल्य नबढाइएको निगमले जनाएको छ।
निगमका अनुसार भारतबाट असोज १४ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा र मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा बढेर आएको छ।
त्यस्तै, हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा बढेर आएको निगमले जनाएको छ। तर, निगमले उपभोक्ताका लागि पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य भने यथावत् राखेको छ। पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ कायम गरिएको छ।
डिजेल र मट्टितेलको मूल्य पनि यसअघिकै दरमा यथावत् राखिएको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजार तथा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरिँदा निगमलाई ठूलो आर्थिक भार पर्ने भएको छ।
निगमका अनुसार हालको मूल्य यथावत् राख्दा पाक्षिक रूपमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान छ। भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद्पछि सर्वसाधारणलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाइएको निगमले जनाएको छ।







