काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ।

“पम्पमा तेलको मौज्दात कम भएका कारण केही स्थानमा लाइन देखिएको हो। थानकोट डिपोबाट मागअनुसार इन्धन लोड भएर गइसकेको छ। कतिपय पम्पमा पुगिसकेको छ भने कतिपयमा पुग्ने क्रममा छ,” काठमाडौं उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएको सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो, “पेट्रोलियम पदार्थको बिक्री–वितरणमा देखिएको समस्या समाधान भइसकेको छ। अहिले कुनै समस्या छैन।”

ADVERTISEMENT

उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासि उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमनसमेत गरेको थियो।

काठमाडौं उपत्यकाका पम्पहरूले आज निगमको थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिनुभयो। उपत्यकामा करिब १३० भन्दा बढी पम्प रहेका छन्।

ADVERTISEMENT