काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव जारी रहे पनि नेपाल आयल निगमले इन्धनको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।

निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणालीका आधारमा समीक्षा गरिए पनि हाललाई मूल्य समायोजन नगरिएको जनाएको छ।

ADVERTISEMENT

निगमका अनुसार पछिल्ला केही महिनादेखि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यमा देखिएको अस्थिरतालाई ध्यानमा राख्दै इन्धनको मूल्य नघटाउने निर्णय गरिएको हो। सञ्चालक समितिको निर्णयअनुसार यो व्यवस्था आज रातिदेखि लागू हुनेछ।

ADVERTISEMENT

यथावत कायम गरिएको मूल्यअनुसार पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा पर्नेछ।

दोस्रो वर्ग (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल १९४ रुपैयाँ कायम गरिएको छ।

ADVERTISEMENT

त्यसैगरी तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँकै दर यथावत रहने निगमले जनाएको छ।