काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई बुधबार भर्चुअल सम्बोधन गर्दै ओलीले संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।
ओलीले पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताएका छन्। उनले भने, ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा संकल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ।’
उनले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुको सट्टा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको ओलीको दाबी थियो।
ओलीले पार्टीले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले भने, ‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ। सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ।’
एमालेले यसअघि पनि प्रदेशस्तरका नेताहरूसँग भर्चुअल संवादमार्फत संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा जोड दिँदै आएको छ।












