काठमाडौं । इरानको पुनरावेदन अदालतले चर्चित गायिका परस्तु अहमदीलाई सुनाइएको ७४ कोर्रा हान्ने सजाय सदर गरेको छ।

२९ वर्षीया अहमदीले डिसेम्बर २०२४ मा आफ्नो युट्युब च्यानलमा लाइभस्ट्रिम गरिएको कन्सर्टमा बिना बाहुलाको पोसाक लगाएर गीत गाएकी थिइन्। उक्त भिडियो भाइरल भएपछि इरानी न्यायपालिकाले उनीविरुद्ध कारबाही अघि बढाएको थियो।

ADVERTISEMENT

इरानमा महिलालाई सार्वजनिक रूपमा गाउन प्रतिबन्ध छ भने टाउकोमा स्कार्फ लगाउन र शरीर ढाक्ने लुगा लगाउनुपर्ने कानुनी व्यवस्था छ। न्यायपालिकाले अहमदीको प्रदर्शनले देशको कानुनी तथा सांस्कृतिक मान्यता उल्लंघन गरेको जनाएको थियो।

ADVERTISEMENT

जुनमा कोमको एक फौजदारी अदालतले अहमदीसहित उनका ब्यान्ड र उत्पादन टोलीका आठ सदस्यलाई ‘अश्लील र आपत्तिजनक सामग्री’ प्रकाशन गरेको आरोपमा दोषी ठहर गरेको थियो। उनीहरूलाई ७४ कोर्रा हान्ने सजायसँगै दुई वर्षसम्म श्रव्यदृश्य गतिविधिमा सहभागी हुन र देश छाड्न प्रतिबन्ध लगाइएको थियो।

अहमदीका वकिलहरूका अनुसार शुक्रबार पुनरावेदन अदालतले मुद्दाको सुनुवाइ नै नगरी अपिल खारेज गर्दै तल्लो अदालतको फैसला सदर गरेको हो।

ADVERTISEMENT

अहमदीका एक वकिलले बीबीसीसँग कन्सर्ट आयोजना गर्नु अपराध नभएको बताएका छन्। उनका अनुसार पुनरावेदन अदालतसँग मुद्दाको सुनुवाइ गर्ने विकल्प भए पनि त्यसो नगरी तल्लो अदालतको निर्णय सदर गरिएको हो।