काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २९ मा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण गर्ने भएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान प्रस्तावित भवनको शिलान्यास गरेकी छन्।

वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा जगपूजा तथा शिलान्यास गरिएको हो।

ADVERTISEMENT

शिलान्यासपछि आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले शिक्षा, खेलकुद र समान अवसर प्राप्त गर्न पाउनुपर्ने बताइन्। अटिजम वा शारीरिक अपाङ्गता भएका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने उनको भनाइ थियो।

ADVERTISEMENT

उनले काठमाडौंलाई सबै बालबालिकाले सम्मानपूर्वक बाँच्न र समान अधिकार प्राप्त गर्न सक्ने सहरका रूपमा विकास गर्नुपर्ने बताइन्।

डंगोलका अनुसार महानगरले निर्माण गर्न लागेको विद्यालय तथा अनुसन्धान केन्द्र भवनमा मात्रै सीमित नभई अटिजम भएका बालबालिकाको ज्ञान तथा सीप अभिवृद्धि, तालिम, अध्ययन अनुसन्धान र उनीहरूका अभिभावकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गर्न लागिएको हो।

उनले महानगरपालिकाले साझा सपना साकार पार्ने अभियानमा एउटा इँटा थप्ने काम गरेको उल्लेख गर्दै यसलाई मानवता र करुणामा आधारित सहर निर्माणको महत्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरिन्।

पाँचतले भवनमा तालिमदेखि अनुसन्धानसम्मका सुविधा

वडा नं. २९ को प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने विद्यालय तथा अनुसन्धान केन्द्रको भवन ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा फैलिनेछ।

भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्वतर्फ ३५ फिट तथा पश्चिमतर्फ २२ फिट हुनेछ। १७ मिटर उचाइको पाँचतले भवनमा भूमिगत तलासमेत रहनेछ।

भवनको कुल क्षेत्रफल १८ हजार ५०० वर्गफिट हुनेछ। भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था हुनेछ।

भवनको भुइँतलामा खुला खेल्ने क्षेत्र, भर्‍याङ, लिफ्ट र मुख्य प्रवेशद्वार रहनेछन्। पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष निर्माण गरिनेछ भने चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष रहनेछ। पाँचौँ तलामा बार्दलीको व्यवस्था हुनेछ।

भवनमा आठ जना क्षमताको लिफ्ट तथा पहुँचयुक्त शौचालय र कोठाहरू निर्माण गरिने महानगरले जनाएको छ।

२०८४ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

भवन निर्माणका लागि सुरुमा १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियामार्फत निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा सम्झौता भएको छ।

निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो। सम्झौताअनुसार २०८४ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।

भवनको डिजाइन सार्वजनिक निर्माण विभागले तयार पारेको हो। निर्माण सम्पन्न भएपछि उक्त केन्द्रले अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास, तालिम तथा अनुसन्धानका साथै अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ।