काठमाडौं । अमेरिकाले इरानका दक्षिणी तटीय क्षेत्रमा थप हवाई आक्रमण गरेको छ। आक्रमणपछि स्ट्रेट अफ होर्मुज आसपासका बुशेहर, चाबहार, बन्दर अब्बास, सिरिक, जास्क र अबु मुसा टापुमा शक्तिशाली विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने चाबहार क्षेत्रमा व्यापक विद्युत् आपूर्ति अवरुद्ध भएको छ। त्यहाँका दुई बन्दरगाह र एउटा समुद्री ट्राफिक नियन्त्रण टावर पनि आक्रमणको निशानामा परेका छन्।
अमेरिकी सैन्य कमान्डको निर्देशनमा गरिएको भनिएको आक्रमणपछि बन्दर अब्बास र चाबहार आसपास लगातार विस्फोटका आवाज सुनिएको बताइएको छ। पर्सियन खाडीस्थित इरान नियन्त्रित रणनीतिक टापु तथा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का नौसैनिक अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरिएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा इरानमा आगलागी र धुवाँ देखिएको भिडियो सार्वजनिक गर्दै यसलाई इरानले जहाजहरूमाथि गरेको आक्रमणको जवाफ भएको बताएका छन्। उनले यस्तो गतिविधि पुनः दोहोरिए अमेरिकाले अझ कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले अमेरिका वा उसका सहयोगीमाथि गर्ने कुनै पनि आक्रमणको जवाफ ‘२० गुणा बढी शक्तिका साथ दिइने’ बताएका छन्।
उनका अनुसार होर्मुज जलमार्गमा साउदी अरेबिया र कतारका तेल ट्यांकरसहित तीन व्यापारिक जहाजमाथि भएको भनिएको इरानी आक्रमणको प्रतिक्रियास्वरूप अमेरिका सैन्य कारबाहीमा उत्रिएको हो।
यता, इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले इरानीहरूले धम्कीको जवाफ शब्दले नभई कामबाट दिने बताएका छन्। उप–परराष्ट्रमन्त्री काजेम गरिबाबादीले ट्रम्पको अभिव्यक्तिलाई शक्तिको प्रदर्शन नभई अमेरिकी नीतिको असफलताको स्वीकारोक्ति भएको टिप्पणी गरेका छन्।
इरान–अमेरिकाबीच बढ्दो सैन्य तनावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्ने चिन्ता बढेको छ।











