काठमाडौं । बालश्रम पूर्ण रूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृतिका आधारमा नियमन गर्ने भन्ने बहसबीच सरकारले १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालमा अहिले पनि करिब ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको तथ्यांक प्रस्तुत गर्दै उनीहरूलाई श्रमबाट बाहिर निकाल्ने र बालश्रमको संख्या घटाउने उद्देश्यले विधेयक ल्याइएको बताए।
उनका अनुसार बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाएर मात्रै समस्या समाधान हुँदैन। नेपालको आर्थिक, सामाजिक तथा पारिवारिक अवस्था, गरिबी र संरक्षणविहीन बालबालिकाको अवस्थासमेत विचार गरेर कार्यान्वयन गर्न सकिने कानुन आवश्यक रहेको उनको भनाइ छ।
‘हामीले यो बनाउनुको कारण भनेको अहिले पनि नेपालमा ११ लाख बच्चा बालश्रममा आबद्ध छन् भनेर डाटाले देखाइराख्या छ। हो, त्यो ११ लाखलाई कसरी घटाउने तिर हामी सोचिराख्या हो,’ मन्त्री यादवले भने।
उनले १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई घरमा अभिभावकलाई सामान्य सहयोग गर्ने प्रकृतिका हलुका काममा मात्रै संलग्न गराउने प्रस्ताव गरिएको बताए। यस्तो कामले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा शारीरिक र मानसिक विकासमा असर गर्न नहुने उनको भनाइ छ।
‘हामीले बच्चालाई स्कुलबाट निकालेर काममा लगाउनुपर्छ भन्ने तर्फ पनि होइनौँ। हामीले बच्चालाई स्कुलमा टिकाउनुपर्छ भन्ने पक्षमै हो,’ उनले भने।
सरकारले १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कामको प्रकृति र सीमा छुट्याएको छ। कुन उमेरका बालबालिकाले कस्तो काम गर्न पाउने भन्ने विषय विधेयकको अनुसूचीमा समेटिएको मन्त्री यादवले बताए।
उनका अनुसार लामो समय काम गराउने, स्वास्थ्यमा असर पार्ने, मानसिक दबाब सिर्जना गर्ने तथा उमेरअनुसारको सीमाभन्दा बढी काममा लगाउने अवस्थालाई शोषणकारी श्रमका रूपमा हेर्नुपर्ने सरकारको प्रस्ताव छ।
मन्त्री यादवले बालबालिकालाई काममा लगाउने सबै व्यक्ति शोषणकारी नहुने तर्क गर्दै विगतमा ग्रामीण क्षेत्रका कतिपय परिवारले आर्थिक अभावका कारण बालबालिकालाई पढाइदिने र हेरचाह गरिदिने व्यक्तिकहाँ पठाउने गरेको अभ्याससमेत उल्लेख गरे।
उद्धारपछि पुनर्स्थापना र परिवारको आर्थिक सुरक्षामा जोड
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बालश्रम नियन्त्रणका लागि कानुनी कारबाहीसँगै उद्धार, पुनर्स्थापना, विद्यालयमा पुनःएकीकरण र परिवारको आर्थिक अवस्था सुधार गर्नुपर्ने सुझाव दिएका छन्।
सांसद प्रभा कार्कीले बालबालिकालाई श्रमबाट उद्धार गरेपछि राज्यले तत्काल संरक्षण र सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने बताइन्। उजुरी गरेकै कारण रोजगारदाताबाट प्रतिशोध वा हिंसाको जोखिम हुन सक्ने भएकाले उद्धार गरिएका बालबालिकाको सुरक्षालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले घरेलु श्रममा संलग्न बालबालिकाको अवस्थालाई पनि विधेयकले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने बताइन्। अति विपन्न परिवारलाई सामाजिक सुरक्षा, अभिभावकलाई सीप तथा रोजगारी र बालबालिकालाई विद्यालयमै टिकाउने कार्यक्रम आवश्यक रहेको उनको सुझाव छ।
जन्मदर्ता वा उमेर प्रमाणित गर्ने कागजात नभएका बालबालिकालाई कानुनी संरक्षणबाट वञ्चित गर्न नहुने विषय पनि उनले उठाइन्।
सांसद कालिबहादुर सहकारीले विद्यालय, स्वास्थ्य संस्था र होटललगायत क्षेत्रमा ११–१२ वर्षका बालबालिकासमेत काम गरिरहेको वास्तविकता औँल्याउँदै उमेरअनुसार कामको समय, आराम, स्वास्थ्य, पोषण र शिक्षामा असर नपर्ने व्यवस्था गर्नुपर्ने बताए।
बालश्रम नियन्त्रणका लागि स्थानीय तह, सरकारी निकाय र गैरसरकारी संस्थाको भूमिका स्पष्ट गर्दै नियमित अनुगमनको संयन्त्र बनाउनुपर्ने उनको सुझाव थियो।
सांसद प्रकाश पाठकले शरणार्थी तथा सीमापारबाट आएका बालबालिकाको श्रमसम्बन्धी विषय पनि विधेयकमा समेट्नुपर्ने बताए। उनले बालश्रमसम्बन्धी मुद्दा दायर गर्ने समयसीमा ६ महिनाबाट बढाएर बालबालिकासम्बन्धी ऐनअनुसार एक वर्ष बनाउनुपर्ने सुझाव दिए।
त्यस्तै, स्थानीय बालकल्याण समिति, राष्ट्रिय बाल अधिकार परिषद् र स्थानीय तहको जिम्मेवारी स्पष्ट गर्नुपर्ने उनको भनाइ थियो।
लुकेर हुने बालश्रम नियन्त्रण चुनौती
सांसद गङ्गादेवी श्रेष्ठले सडक र सार्वजनिक क्षेत्रमा देखिने बालश्रमभन्दा अहिले लुकेर हुने बालश्रमको अवस्था पहिचान गर्न चुनौती रहेको बताइन्।
गरिबी, बेरोजगारी, विपद्, अभिभावक विदेश जाने अवस्था, अभिभावक गुमाएका बालबालिका तथा असमान शिक्षा प्रणालीले बालश्रमको जोखिम बढाउने उनको भनाइ थियो।
उनले दोहोरी, मेला, महोत्सव तथा अन्य मनोरञ्जन क्षेत्रमा बालबालिकाको संलग्नतालाई पनि विधेयकले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने बताइन्। उद्धारपछि सुरक्षित पुनर्स्थापना र पुनर्स्थापना केन्द्रहरूको प्रभावकारी अनुगमन आवश्यक रहेको उनको सुझाव छ।
सांसद कृपाराम रानाले संविधानको धारा ३९ ले सुनिश्चित गरेका बालबालिकाका मौलिक हक र अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धि १३८ तथा १८२ को मर्मअनुसार विधेयक बनाउनुपर्ने बताएका थिए।
सांसद सोम शर्माले बालश्रमको मुख्य कारणमध्ये गरिबी र परिवारको आर्थिक अवस्था कमजोर हुनु रहेको भन्दै कानुनसँगै रोजगारी र आर्थिक सुरक्षाका कार्यक्रम आवश्यक रहेको बताए।
समिति सभापति रहबर अन्सारीले विधेयकलाई प्रगतिशील प्रस्तावको संज्ञा दिँदै बालबालिकालाई काममा लगाउनु रोजगारदाताका लागि आर्थिक रूपमा महँगो बनाउने उद्देश्य रहेको बताए।
बालबालिकालाई सस्तो श्रमका रूपमा प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित गर्न जरिवाना, कानुनी जिम्मेवारी र पुनर्स्थापनासम्बन्धी व्यवस्था प्रस्ताव गरिएको उनको भनाइ छ।
बालबालिकाको उमेर, कामको प्रकृति, समय र श्रमको भार स्पष्ट निर्धारण गर्ने गरी विधेयक अघि बढाइने भन्दै उनले सांसदहरूबाट प्राप्त संशोधन र सुझावलाई दफावार छलफलमा समेट्ने बताए।












