काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई अनुशासन र निष्ठामा रहेर संगठन निर्माणमा केन्द्रित हुन निर्देशन दिएका छन्।

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि पार्टीभित्रको सन्देह अन्त्य भएको दाबी गरे।

ADVERTISEMENT

ओलीले अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई फाइदा पुग्ने गरी बोल्ने जोकोहीमाथि कारबाही हुने चेतावनी दिए। उनले केन्द्रीय कमिटी बैठकलाई ‘कट–अफ डेट’ का रूपमा लिएको बताए।

ADVERTISEMENT

उनले ‘लोकतन्त्रको पुनर्वहाली’ र ‘आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी’लाई पार्टीको मुख्य कार्यभार भएको बताए। निर्वाचनमा केन्द्रित भएर जनसंगठन पुनर्गठन गर्नुपर्ने उनको भनाइ थियो।

ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनका नाममा गतिविधि गर्नु ‘अपराधपूर्ण क्रियाकलाप’ भएको टिप्पणी गर्दै अब त्यस्ता गतिविधिमा क्षमा नहुने बताए। प्रतिनिधि परिषद् बैठकतर्फ नलागी निर्वाचन तयारीमा केन्द्रित हुन उनले निर्देशन दिए।

ADVERTISEMENT

उनले नेता–कार्यकर्तालाई एउटै लक्ष्यमा केन्द्रित भएर संगठन निर्माणमा सम्पूर्ण शक्ति लगाउन आग्रह गरे। मुलुकलाई पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंस र आतंक मच्चाउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसलाई रोक्न पार्टी एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।

ओलीले मुलुकको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको आरोप पनि लगाए। फागुनको निर्वाचनमा पार्टीले भोगेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको उनको दाबी थियो।

अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी भएको बताउँदै ओलीले चुनावी तालमेल वा विषयगत कार्यगत एकता भने हुन सक्ने बताए।

नेता–कार्यकर्तालाई राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिम्मेवारी पूरा गर्न नसकिने भन्दै उनले कार्यक्षेत्रमै खटिएर कार्ययोजना बनाउन निर्देशन दिए। नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा नभई काम र श्रेष्ठताका आधारमा हुने उनले बताए।

ओलीले यसै महिनाभित्र पार्टीको डिजिटल अभिलेख तथा संगठन सुदृढीकरणको काम सम्पन्न गर्न र नयाँ सदस्यता वितरण तीव्र बनाउन पनि निर्देशन दिएका छन्।