काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका निर्वाचनमा तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ ।

समितिले पार्टीका विभिन्न तहका निर्वाचनका क्रममा ‘नेपाली कांग्रेस १५ औँ महाधिवेशन निर्वाचन निर्देशिका, २०८३’ को अनुसूची–२१ बमोजिम तोकिएको शुल्कबाहेक अतिरिक्त रकम लिएको भन्ने गुनासा प्राप्त भएको जनाएको छ ।

ADVERTISEMENT

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्कबाहेक कुनै पनि अतिरिक्त रकम लिन नपाइने स्पष्ट पारेका छन् । अतिरिक्त रकम लिइएको भए सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न पनि समितिले निर्देशन दिएको छ ।

ADVERTISEMENT

निर्देशिकाअनुसार गाउँपालिका तथा नगरपालिका वडा कार्यसमितिको सभापति पदका लागि निर्वाचन शुल्क १ हजार रुपैयाँ तोकिएको छ । उपसभापति, सचिव र सहसचिव पदका लागि ७ सय रुपैयाँ तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

गाउँपालिका कार्यसमितिको सभापति पदका लागि ५ हजार, उपसभापति र सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५ सय तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । नगरपालिकाको सभापति पदका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

ADVERTISEMENT

महानगरपालिका तथा उपमहानगरपालिका कार्यसमितिको सभापति पदका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापति पदका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ । प्रदेश अधिवेशन प्रतिनिधिका लागि ५ हजार रुपैयाँ निर्वाचन शुल्क तोकिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति पदका लागि १० हजार, उपसभापति र सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ७ हजार तथा केन्द्रीय महासमिति सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

जिल्ला कार्यसमितिको सभापति पदका लागि १५ हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्रदेश कार्यसमितिको सभापति पदका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, केन्द्रीय कार्यसमितिको सभापति पदका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ निर्वाचन शुल्क तोकिएको समितिले जनाएको छ ।

समितिले निर्वाचन निर्देशिकाले तोकेको शुल्कको पालना गर्न र अतिरिक्त रकम नलिन सम्बन्धित निर्वाचन अधिकारी तथा सबै तहका सरोकारवालालाई निर्देशन दिएको छ ।