स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।

राजनीतिसँगै बैंकिङ, सहकारी, कृषि, उद्यम, बालबालिका संरक्षण तथा वातावरणका क्षेत्रमा काम गरेका ढकालले आफ्नो अनुभवलाई पार्टीको नीति निर्माण र मुलुकको आर्थिक रूपान्तरणसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेका हुन्।

ADVERTISEMENT

स्याङ्जाको आँधीखोला गाउँपालिका–६, फापरथुमका ढकाल विद्यार्थी राजनीतिबाट कांग्रेसमा जोडिएका हुन्। उनी १०औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा सक्रिय छन्।

ADVERTISEMENT

संगठनात्मक भूमिकासँगै सामाजिक तथा आर्थिक क्षेत्रमा समेत निरन्तर क्रियाशील रहँदै आएका ढकालले नयाँ पुस्ताको सहभागिता र व्यावसायिक क्षेत्रबाट प्राप्त अनुभवलाई नीतिनिर्माणमा जोड्न आफूले उम्मेदवारी दिन लागेको बताएका छन्।

ढकालको सामाजिक तथा उद्यमशील यात्राको सुरुवात बालबालिका संरक्षण अभियानबाट भएको थियो। उनले २०५७ सालमा स्याङ्जामा अनाथ तथा गरिब बालबालिकाको संरक्षणका लागि सहारा बालगृह स्थापना गरेका थिए। त्यसपछि २०५९ सालमा रोयल सहकारी स्थापना गरी सहकारी अभियानमा जोडिएका उनी २०६३ सालमा मुक्तिनाथ विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिकामा सहभागी भएका थिए।

ADVERTISEMENT

वित्तीय क्षेत्रसँगै कृषि र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका ढकालले पछिल्लो एक दशकदेखि मुक्तिनाथ कृषि कम्पनीमार्फत कृषि उत्पादन, मूल्य शृंखला विकास तथा रोजगारी सिर्जनाका क्षेत्रमा काम गर्दै आएका छन्।

औद्योगिक विकाससँगै वातावरणमा परेको प्रभावका विषयमा समेत उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा आवाज उठाउँदै आएको बताइएको छ। उनी नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका संस्थापक सदस्यमध्ये एकसमेत हुन्।

राजनीतिक रूपमा सक्रिय ढकाल जेनजी आन्दोलनपछि भएको कांग्रेसको विशेष महाधिवेशनमा समेत सक्रिय थिए। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा उनी स्याङ्जा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवारसमेत बनेका थिए।

ढकालले आफ्नो उम्मेदवारीलाई पार्टीको पद प्राप्त गर्ने प्रयासभन्दा पनि समाज र अर्थतन्त्रका विभिन्न क्षेत्रका समस्यालाई नीतिगत तहबाट सम्बोधन गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्।

उनले बालबालिकाको पोषण, युवाको शिक्षा तथा रोजगारी, ज्येष्ठ नागरिकको स्वास्थ्य, निजी क्षेत्रका समस्या र मुलुकको आर्थिक अवस्था सुधारलाई प्राथमिकतामा राखेका छन्।

‘विभिन्न क्षेत्रमा हासिल गरेको अनुभव र क्षमतालाई अब पार्टीको नीति निर्माण तथा देशको समग्र विकासमा उपयोग गर्न चाहन्छु,’ ढकालले भने, ‘बालबालिकादेखि युवासम्म, ज्येष्ठ नागरिकदेखि निजी क्षेत्रसम्मका समस्या नीतिगत रूपमा समाधान गर्ने गरी क्षमताले भ्याएसम्म काम गर्नु मेरो उद्देश्य हो।’

ढकालको उम्मेदवारीसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा उद्यम, वित्त, कृषि, सामाजिक सेवा र वातावरण क्षेत्रमा काम गरेका व्यक्तिको प्रतिनिधित्वको बहससमेत जोडिएको छ। विभिन्न क्षेत्रमा हासिल गरेको व्यावहारिक अनुभवलाई राजनीतिक नीतिसँग जोड्ने उनको प्रयासले पार्टीको संगठनात्मक तथा नीतिगत बहसमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।