काठमाडौँ । देशभर अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आजदेखि असोज १२ गतेसम्म उच्च सतर्कता अपनाएर मात्रै सवारी सञ्चालन गर्न व्यवसायी, चालक तथा यात्रुलाई आग्रह गरेको छ ।
मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसूचनालाई ध्यानमा राख्दै महासंघले आफ्ना सदस्य संघ, समिति, कम्पनी, प्रालि तथा सरोकारवालालाई सडक र मौसमको अवस्था बुझेर मात्रै सवारी सञ्चालन गर्न अपिल गरेको हो ।
महासंघले बिहीबारदेखि सोमबारसम्म सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालन गर्दा स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गरेर सडकको अवस्था यकिन गर्न आग्रह गरेको छ ।
महासंघका अध्यक्ष सरोज सिटौलाले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले जोखिमयुक्त समयमा विशेष सावधानी अपनाउनुपर्ने बताए । उनले अत्यावश्यक नपरी लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न यात्रुलाई समेत आग्रह गरेका छन् ।
यात्रा गर्नैपर्ने अवस्था भए मौसमको पूर्वजानकारी लिएर सडकको अवस्था बुझ्दै सुरक्षित रूपमा यात्रा गर्न महासंघले आग्रह गरेको छ ।







