काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बागमती र गण्डकी प्रदेशका धादिङ, म्याग्दी, नवलपरासी पूर्व, मनाङ र गोरखाका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ।

ADVERTISEMENT

धादिङको धुनिबेसी नगरपालिका–९ खत्रीपौवास्थित त्रिभुवन राजपथमा पहिरो खसेपछि एकतर्फी यातायात सञ्चालन भइरहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पनि पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा छ।

ADVERTISEMENT

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा कालिगण्डकी करिडोर प्रभावित भएको छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने प्रहरीले जनाएको छ।

मनाङमा बाढीका कारण बेसीशहर हुँदै खाङसार जाने सडक प्रभावित भएको छ। उक्त सडकखण्डमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

ADVERTISEMENT

यसैगरी, बूढीगण्डकीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल तथा गोरखाको आरुघाटबाट धादिङ जोड्ने नयाँपुलमा पूर्ण क्षति पुर्‍याएको छ। पुलमा क्षति पुगेपछि उक्त क्षेत्रमा सडक आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा सम्बन्धित निकायसँग सडक खुल्ने अवस्थाबारे बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।