पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ । बाढीपहिरोका कारण घरगोठ, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजना तथा खेतीयोग्य जमिन प्रभावित भएका छन् ।

याङवरक गाउँपालिका–१, २ र ३ मा बाढीपहिरोले व्यापक क्षति गरेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिए । उनका अनुसार वडा नं १ मा दुई वटा घर बगेका छन् भने वडा नं १ र २ मा रहेका तीन वटा झोलुङ्गे पुल बाढीले बगाएको छ ।

हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले बताए । विशेषगरी याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ ।

ADVERTISEMENT

निरन्तरको वर्षाका कारण पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत ओयाम–चिवाभञ्ज्याङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । याङवरक–३ को रिजाल भिरमा पहिरो खसेको छ भने वडा नं २ को दोभानेस्थित डाइभर्सन बाढीले पूर्ण रूपमा बगाएको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार अवरुद्ध सडक सञ्चालनका लागि पहल सुरु गरिएको छ । सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन गरिरहेको र हालसम्म दुई वटा घर बगेको पुष्टि भएको उनले बताए ।

ADVERTISEMENT

यसैबीच पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

हेंवा, काबेली र तमोर नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्र उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानीयवासी तेजबहादुर योङ्याका अनुसार याङवरक–३ ओयाम बजार आसपासका खेतीयोग्य जमिनमा समेत बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ ।