काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयलाई लिएर भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा भावुक बनेकी खतिवडाले आफू पदको लोभमा नभई सहिद परिवारको न्याय र देश सुधारका लागि संसद्मा आएको बताइन्।
उनले संसद्को रोष्टमबाट आफूलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भनेर गरिएको टिप्पणीको प्रतिवाद गरिन्। आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभई ‘जेनजी’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको न्यायका लागि भएको उनको भनाइ थियो।
खतिवडाले आफूलाई लक्षित गरी राजनीतिक टिप्पणी गर्दा सम्बन्धित दल र सरकारलाई जिम्मेवार भएर बोल्न आग्रह गरिन्। न्याय नपाएसम्म आफूले निरन्तर खबरदारी गरिरहने भन्दै उनले न्याय प्राप्त भएको दिन सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिचकिचाउने बताइन्।
‘मेरो काख रितिएको छ, संसार उजडिएको छ। यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु,’ उनले भनिन्।
उनले आफू ‘माफिया बन्न वा जनतालाई उचालेर लडाउन’ संसद्मा नआएको बताउँदै आफू सहिदकी आमा भएको उल्लेख गरिन्। ‘आफ्नो छोरा जस्ता अरू छोराहरू नमरून् भनेर खबरदारी गर्न’ आफू संसद्मा आएको उनको भनाइ थियो।
सरकारसँग माग राख्दै खतिवडाले बन्दी बनाइएका आन्दोलनकारीलाई रिहा गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न र सहिद परिवारको चित्त बुझ्ने गरी न्याय निरूपण गर्न आग्रह गरिन्।






