काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला घाइते भएका ३० जना अझै अस्पतालमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।

ADVERTISEMENT

सिभिल अस्पतालमा एक, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन, त्रिवि शिक्षण अस्पतालमा पाँच, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन, नेपाल प्रहरी अस्पतालमा एक र कीर्तिपुर अस्पतालमा एकजना उपचाररत छन् ।

यसैगरी, बी एन्ड बी अस्पतालमा तीन, विराट मेडिकल शिक्षण अस्पतालमा एक, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ, जसमा उपचारपश्चात् दुई हजार २३८ जना डिस्चार्ज भइसकेका छन् ।

अस्पतालमा आएका र मृत्यु भएका कुल सङ्ख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने नौजना छ ।