काठमाडौं । माइतीघरमा जेनजी आन्दोलनका घाइतेको अगाडि राजावादी नारा लागेपछि बबाल भएको छ ।

सरकारले माग सम्बोधन गर्न नसकेको भन्दै धर्नामा बसेका घाइते जेनजी र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका प्रदर्शनकारीबीच भनाभन भएको हो ।

ADVERTISEMENT

भदौ २३ र २४ गतेको घटनामा घाइते भएका र सहिद परिवारका पीडितहरुले निःशुल्क उपचार, उचित क्षतिपूर्तिलगायतको मागसहित माइतीघरमा निरन्तर धर्ना दिइरहेका छन् । प्रसाई नेतृत्वको समूहले पनि माइतीघरमै पुगेर प्रदर्शन गरेपछि परिस्थिति तनावपूर्ण बनेको हो ।

प्रसाई समूहले आइतबारदेखि अनिश्चितकालीन मेची महाकाली आन्दोलनको घोषणा गरेको थियो । तर शनिबार राति सरकारसँगको वार्तापछि प्रसाई समूहले बन्द फिर्ता लिएको थियो ।

शान्तिपूर्ण आन्दोलन गर्न भने सरकारले नै अनुमति दिएको थियो । सोहीअनुसार आज प्रदर्शनको लागि माइतीघर पुगेका राजावादी र घाइते जेनजीबीच सवालजवाफ भएको हो । घाइते जेनजीले अन्यत्रै गएर प्रदर्शन गर्न भनेपछि राजावादीहरु चर्काचर्कीमा उत्रिएका हुन् । त्यहीबेला राजावादीहरूले राजा चाहियो भन्दै नारा लगाएका थिए ।