काठमाडौं । अभिनेता अनमोल केसी कानुनी झमेलामा फसेका छन् । अनमोलसहित चलचित्र ‘फर्की फर्की’ को टिमविरुद्ध कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जिल्ला अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेका छन्।

मुद्दामा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र हटाउन अनुरोध गर्दा पनि एमएसएम ओ‌टीटी प्लेटफर्मबाट आफ्नो मोबाइल नम्बर नहटाएकोले कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ। यसले आफूलाई मानसिक तथा शारीरिक रुपमा हानिनोक्सानी भएको भन्दै उचित क्षतिपूर्तिको समेत माग दाबी गरिएको छ।

‘फर्की फर्की फिल्म रिलिज भएपश्चात उक्त संवादमा उल्लेखित मेरो फोन नम्बर अनमोल केसीसँग बोल्न चाहने व्यक्तिहरूले बारम्बार फोन गर्ने कार्यले मेरो व्यक्तिगत फोन नम्बर नै मैले स्वीच अफ गरी बस्नु परेको छ। एकैछिन फोन अन गरी बस्यो कि कुनै न कुनै ठाउँबाट, कुनै न कुनै व्यक्तिले अनमोल केसीको सम्पर्क नम्बर भन्ठानी फोन गरिहाल्छ,’ निवेदनमा भनिएको छ।

सुरु सुरुमा फोन आउँदा उक्त नम्बर आफ्नो भएको जानकारी गराउने गरे पनि पछि दिनमै सयौँ नम्बरबाट फोन आउन थालेको र अनमोल केसीलाई दिनु भन्ने गरिएपछि मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पार्ने काम विपक्षीबाट भएको दाबी गरिएको छ। अनमोल, चलचित्रका निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति (सेन्सर बोर्ड), निर्माता रोहित अधिकारीसहितलाई कानुनबमोजिम सजायको माग गर्दै दायर भएको छ।