काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला फिफा विश्वकपका खेल हेर्न अमेरिकामा छन्। उनी आफ्नो मनपर्ने टोली अर्जेन्टिनालाई समर्थन गर्न विश्वकपको माहोलमै सहभागी भएका हुन्।
अमेरिका पुगेका अनमोलले अर्जेन्टिनाको जर्सी लगाएको तथा गालामै अर्जेन्टिनाको झण्डा रङ्ग्याएको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ। उनका तस्बिरहरू फ्यानहरूले व्यापक रूपमा सेयर गरिरहेका छन्।
फुटबलप्रेमीका रूपमा परिचित अनमोलले यसपटक विश्वकपमै पुगेर अर्जेन्टिनालाई प्रत्यक्ष समर्थन गरेका हुन्।
विश्वकपको उत्साह चरममा पुगेका बेला अनमोलको यो उपस्थितिले सामाजिक सञ्जालमा नयाँ चर्चा थपेको छ। विशेषगरी अर्जेन्टिनाका समर्थकहरूले उनको पोस्टलाई उत्साहका साथ स्वागत गरिरहेका छन्।
पाइपलाइनमा रहेका सिनेमा अभिनय गर्न छाडेर अनमोल विश्वकपमा रमाइरहेका छन् । अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको र फाइनलमा प्रवेश गर्ने सम्भावना रहिरहेकाले उनी फाइनल खेल हेरेर आउने मनस्थितिमा रहेका छन् ।
होम प्रोडक्सन ‘बाटुलो जून’ को प्रोडक्सनको काम सकेर उनी अमेरिका लागेका हुन् । ‘बाटुलो जून’ उनकै पिता भुवन केसीले निर्देशन गरेका छन् । अमेरिकाबाट फर्केलगत्तै उनी अन्य चलचित्रको अभिनयमा लाग्ने भएका छन् ।





