काठमाडौं । सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चामा आएको छ । अभिनेता अनमोल केसी स्टारर फिल्मको टिजर युट्युबको फिल्म चार्टतर्फ नेपालमा शीर्ष स्थानमा पुगेको हो ।

शुक्रबार सार्वजनिक भएको टिजर रिलिजको तीन दिनमै नेपालमा पहिलो नम्बरमा आएको निर्माण पक्षले जनाएको छ । नेपालबाहेक एक दर्जनभन्दा बढी देशमा समेत टिजर ट्रेण्डिङमा रहेको बताइएको छ ।

ADVERTISEMENT

‘बाटुलो जून’ले ३० को दशकमा आधारित प्रेमकथालाई पर्दामा प्रस्तुत गरेको छ । आदर्श प्रेमलाई केन्द्रमा राख्दै फिल्मले तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई कथामा समेटेको छ । तीव्र गतिमा बदलिएको पछिल्लो पुस्ताको प्रेमभन्दा फरक तत्कालीन समयको प्रेम र समाजलाई फिल्ममा देखाउन खोजिएको निर्माण पक्षको भनाइ छ ।

ADVERTISEMENT

फिल्ममा अनमोल केसीसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडाको प्रमुख अभिनय छ । टिजरमा अनमोलको गेटअप, संवाद वाचन शैली र अभिनयले दर्शकको ध्यान खिचेको छ भने प्रिन्सीको उपस्थितिले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन् । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेका छन् ।

ADVERTISEMENT

‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह–निर्माता छन् । फिल्म आगामी कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।