काठमाडौं, असोज ४ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा बढेर ५९ खर्ब ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले रियलस्टेट क्षेत्रमा मात्रै २ खर्ब ६९ अर्ब २१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

कुल कर्जामध्ये रियलस्टेट क्षेत्रमा गएको कर्जाको हिस्सा करिब ४.६५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। बैंकिङ प्रणालीमा कुल कर्जा विस्तार भए पनि त्यसको तुलनामा रियलस्टेट क्षेत्रमा जाने कर्जाको हिस्सा भने तुलनात्मक रूपमा सानो देखिएको हो।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म वाणिज्य बैंकहरूले रियलस्टेट क्षेत्रमा २ खर्ब १५ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो रियलस्टेटतर्फ गएको कुल कर्जाको करिब ८० प्रतिशत हो।

ADVERTISEMENT

यस्तै विकास बैंकहरूले ४२ अर्ब ४ करोड १० लाख रुपैयाँ र वित्त कम्पनीहरूले १२ अर्ब ९० करोड रुपैयाँ रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेका छन्।

एक वर्षमा रियलस्टेट कर्जा घट्यो

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट रियलस्टेट क्षेत्रमा २ खर्ब ७१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। चालु आर्थिक वर्षको साउन मसान्तमा यो रकम २ खर्ब ६९ अर्ब २१ करोड ६० लाख रुपैयाँमा झरेको छ। अर्थात् एक वर्षको अवधिमा रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जा करिब २ अर्ब ६६ करोड रुपैयाँले घटेको देखिन्छ।

ADVERTISEMENT

त्यसैगरी अघिल्लो साउन मसान्तमा बैंकिङ क्षेत्रको कुल कर्जा ५५ खर्ब ६३ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ रहेको थियो। चालु आर्थिक वर्षको साउन मसान्तमा कुल कर्जा बढेर ५९ खर्ब ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

कुल कर्जा बढे पनि रियलस्टेट क्षेत्रमा जाने कर्जाको हिस्सा अघिल्लो वर्षको करिब ४.८९ प्रतिशतबाट घटेर चालु आर्थिक वर्षको साउन मसान्तमा ४.६५ प्रतिशतमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

रियलस्टेट तथा घरजग्गा कारोबार र आवास निर्माणका लागि वित्तीय स्रोतको प्रमुख आधार अझै वाणिज्य बैंकहरू नै रहेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जामा वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा ठूलो छ।