काठमाडौं । सरकारले यात्रुवाहक सार्वजनिक सवारीसाधनको नयाँ दर्ता पुनः खुला गरेको छ। यातायात व्यवस्था विभागले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता प्रक्रिया खुला गरेको हो।

विभागले मंगलबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई परिपत्र गर्दै नयाँ दर्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

ADVERTISEMENT

विभागका अनुसार काठमाडौं उपत्यकाबाहेक देशभर नयाँ सार्वजनिक यात्रुवाहक सवारीसाधन दर्ता गर्न पाइनेछ। उपत्यकाबाहिर भने विद्युतीय र डिजेल दुवै प्रकारका सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको छ। तर, विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइने विभागले जनाएको छ।

ADVERTISEMENT

उपत्यकामा स्कुल बस र सट्टाभर्ना मात्रै

काठमाडौं उपत्यकाभित्र भने नयाँ सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता पूर्ण रूपमा खुला गरिएको छैन। उपत्यकाको सडक तथा सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै स्कुल बस र सट्टाभर्ना हुने सवारीसाधनको दर्ता मात्र खुला गरिएको विभागका निर्देशक मणिराम भुषालले जानकारी दिएका छन्।

सट्टाभर्नाअन्तर्गत पुरानो सार्वजनिक सवारीसाधनको स्थानमा नयाँ सवारीसाधन ल्याएर दर्ता गर्न सकिनेछ।

ADVERTISEMENT

यसअघि सरकारले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन गर्ने भन्दै गत जेठ ७ गतेदेखि देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाएको थियो।

चरणबद्ध रूपमा दर्ता खुलाउँदै सरकार

सवारीसाधनको चाप, ट्राफिक जाम तथा वायु प्रदूषण बढ्दै गएको भन्दै सरकारले सार्वजनिक सवारीको नयाँ दर्ता रोकेको थियो। त्यसपछि यातायात व्यवस्था विभागले चरणबद्ध रूपमा विभिन्न प्रकारका सवारीसाधनको दर्ता खुलाउँदै आएको छ।

असार ८ गतेदेखि एलसी खोलिसकेका, प्रक्रिया अघि बढिसकेका तथा नेपाल भित्रिसकेका सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको थियो।

त्यस्तै, साउन १८ गतेदेखि मालवाहक सवारीसाधनको दर्तासमेत खुला गरिएको थियो। अब यात्रुवाहक सार्वजनिक सवारीको दर्ता पनि खुला भएसँगै नयाँ सवारीसाधन खरिद तथा सञ्चालन गर्न चाहने व्यवसायीलाई थप सहज हुने अपेक्षा गरिएको छ।

विद्युतीय सवारीलाई प्राथमिकता

विभागले सार्वजनिक सवारीको दर्ता खुला गरे पनि विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने नीति अघि सारेको छ। उपत्यकाबाहिर भने विद्युतीयसँगै डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनको दर्ता पनि गर्न सकिनेछ।

सरकारले सार्वजनिक यातायातलाई क्रमशः विद्युतीयतर्फ लैजाने नीति अघि बढाइरहेका बेला नयाँ दर्तामा विद्युतीय सवारीलाई प्राथमिकता दिइएको हो।

सार्वजनिक सवारीको दर्ता खुला भएसँगै दसैँअघि नयाँ यात्रुवाहक सवारीसाधन नेपाल ल्याउने तथा सञ्चालनमा ल्याउने व्यवसायीका लागि बाटो खुलेको छ। लामो समयदेखि दर्ता रोकिँदा प्रभावित भएका अटो व्यवसायी तथा यातायात व्यवसायीलाई समेत यसबाट राहत पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, काठमाडौं उपत्यकामा भने सडकको क्षमता, ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायातको रुट व्यवस्थापनलाई ध्यानमा राख्दै नयाँ सवारीसाधन दर्तामा लगाइएको सीमा तत्काल कायम रहनेछ।