काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै राम्रो बुकिङ पाएको चेरी क्यू (Chery Q) को डेलिभरी भने नाका सञ्चालनमा देखिएको समस्याका कारण प्रभावित भएको छ। नेपालमा भएको NAIMA Nepal Mobility Expo र NADA Auto Show मा समेत कम्पनीले ठूलो संख्यामा बुकिङ प्राप्त गरेको थियो।

तर चीनसँग जोडिएका रसुवागढी र तातोपानी दुवै नाका नियमित रूपमा सञ्चालनमा नरहेकाले चीनबाट नेपालतर्फ सवारीसाधन ल्याउन चुनौती थपिएको कम्पनीले जनाएको छ। रसुवागढी क्षेत्रमा आएको बाढीले सडक तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएपछि उक्त नाकाबाट सवारी आयात प्रभावित भएको हो। तातोपानी नाका पनि चीनतर्फबाट बन्द गरिएपछि आयातका लागि थप समस्या देखिएको छ।

ADVERTISEMENT

सवारीसाधन आयातका लागि कोरलानाका सञ्चालनमा रहे पनि त्यसतर्फ आफ्नै भौगोलिक तथा ढुवानीसम्बन्धी चुनौती रहेको कम्पनीको भनाइ छ। यही कारण बुकिङ भएका चेरी क्यू नेपाल ल्याउन कम्पनीले वैकल्पिक व्यवस्थामार्फत काम गरिरहेको जनाएको छ।

ADVERTISEMENT

चेरी क्यू नेपाल ल्याउने कम्पनीका परियोजना तथा मोटर्सतर्फका निर्देशक गौरव सारडाका अनुसार कम्पनीले सेप्टेम्बर अन्तिमसम्म काठमाडौंमा गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ। त्यसका लागि नाका तथा ढुवानीको अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक व्यवस्थाबाट सवारी ल्याउने तयारी भइरहेको छ।

चेरी क्यूको लोकप्रियताको मुख्य कारण यसको मूल्य, डिजाइन र फिचरको संयोजन रहेको कम्पनीको दाबी छ। ४१.२ किलोवाट आवर क्षमताको ब्याट्रीले करिब ४०० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ। यसमा ५४० डिग्री क्यामेरा, १५.६ इन्चको टचस्क्रिन तथा एडासजस्ता फिचर उपलब्ध छन्।

ADVERTISEMENT

प्रदर्शनी अफरअन्तर्गत चेरी क्यूको मूल्य ३० लाख ९९ हजारदेखि ३२ लाख ९९ हजार रुपैयाँसम्म तोकिएपछि ग्राहकको आकर्षण थप बढेको कम्पनीले जनाएको छ।

अब भने बुकिङ गरेका ग्राहकको मुख्य चासो गाडीको डेलिभरी कहिले हुन्छ भन्नेमा केन्द्रित छ। नाका तथा ढुवानीको अवस्था सहज भए कम्पनीले तोकेको लक्ष्यअनुसार सेप्टेम्बरको अन्तिमसम्म काठमाडौंमा चेरी क्यूको डेलिभरी सुरु हुने अपेक्षा गरिएको छ।