काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार तेस्रो पटक सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

लामिछानेले यसअघि भदौ १० र १६ गते पनि सर्वदलीय बैठक बोलाएका थिए। भदौ १० गते बसेको पहिलो बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

ADVERTISEMENT

बैठकले राहत तथा पुनःस्थापनाका लागि संयुक्त रूपमा पहल गर्ने निर्णय गर्दै बाढी प्रभावित नागरिकको उद्धार तथा व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो।

ADVERTISEMENT

त्यसैगरी, भोटेकोशीमा आएको बाढी तथा पहिरोपछि भदौ १६ गते दोस्रो सर्वदलीय बैठक बसेको थियो। दोस्रो तहका नेताहरू सहभागी उक्त बैठकले विपद्को दिगो समाधान तथा पूर्वतयारीका विषयमा १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।

अब बुधबार हुने तेस्रो बैठकमा पछिल्लो विपद् अवस्था, राहत तथा पुनःस्थापना र विपद् व्यवस्थापनका विषयमा थप छलफल हुने बताइएको छ।

ADVERTISEMENT