काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।
कांग्रेसको क्रियाशील सदस्य रहेको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्याय सोमबार रिट दर्ताका लागि सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतले रिट दर्ता नगरी दरपीठ गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सोही विषयसँग सम्बन्धित एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन छ भने अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश दिइएको छैन । यही कारण रिट दर्ता नभएको उनले बताए ।
कांग्रेस संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । यता देउवा पक्षले भने मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने समय निर्धारण गरेको छ ।
यसरी कांग्रेसभित्र महाधिवेशनको मिति र नेतृत्वलाई लिएर विवाद चर्किरहेका बेला दुवै महाधिवेशन रोक्न माग गरिएको रिटसमेत सर्वोच्चमा दर्ता हुन सकेन ।






