काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले आजदेखि शुल्क संकलन सुरु गरेको जनाएको छ ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क निर्धारण गरिएको छ ।

ADVERTISEMENT

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

ADVERTISEMENT

त्यस्तै, मिनी बस, मिनी टिपर तथा ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौँ प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशातर्फ २०० रुपैयाँ टोल शुल्क तोकिएको छ ।

यसैगरी, मल्टी एक्सल ट्रक, भारी सवारीसाधन तथा उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।नयाँ व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीसाधनले आफ्नो वर्ग र यात्राको दिशाअनुसार तोकिएको शुल्क बुझाउनुपर्नेछ ।