काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बिहीबार) बस्दै छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। आजको बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

ADVERTISEMENT

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै, उनले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछन् ।

ADVERTISEMENT

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैगरी, सभामुखले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

उता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछन् ।

ADVERTISEMENT

यस्तै, प्रधानमन्त्री शाहले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूचीसमेत रहेको छ ।