काठमाडौं । भारी हिमपातका कारण उपल्लो डोल्पामा फसेका ६ जना भारतीय पर्यटकको उद्धार अझै हुन सकेको छैन । उद्धारका लागि परिचालन गर्ने भनिएको नेपाली सेनाको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि उद्धार कार्यमा ढिलाइ भएको हो ।
सुर्खेतस्थित नेपाली सेनाको हवाई बेसमा रहेको हेलिकप्टरमा समस्या देखिएपछि तत्काल उद्धार गर्न नसकिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् । उनका अनुसार पर्यटकको उद्धारका लागि अन्य हेलिकप्टरको खोजी भइरहेको छ ।
डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित दानिगढ क्षेत्रमा भारी हिमपात भएपछि ६ जना भारतीय पर्यटक फसेका हुन् । उनीहरूमा दुई महिला र चार पुरुष रहेका छन् ।
हिमपातका कारण पर्यटकहरू गन्तव्यतर्फ जान नसक्ने अवस्थामा पुगेपछि जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि पहल थालेको हो । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी गरिए पनि प्राविधिक समस्याले योजना प्रभावित भएको छ ।
उद्धारमा ढिलाइ भएपछि प्रशासनले वैकल्पिक हेलिकप्टरको व्यवस्था गर्ने प्रयास गरिरहेको छ । पर्यटकहरू फसेको क्षेत्रमा मौसमको अवस्था र भौगोलिक कठिनाइले उद्धार कार्य थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।









